डिजिटल अल्गोरिदमको आवरणमा ७६ हत्याको सफाइ: के कांग्रेसले युवा पुस्तालाई ढाँट्न खोजेकै हो?

taraitimes.com

 युवराज शाह चैत्र ८। भदौ २३ र २४ गतेको त्यो कालो दिन, जब ७६ जना जेन-जी (Gen-Z) युवाहरूको सपना सडकमै निभाइयो।ती ७६ ओटा घरका चुल्हो अझै बलेका छैनन्, आमाका आँखा ओभाएका छैनन्। तर, अचम्मको कुरा त के छ भने, ती युवाहरूको रगतको मूल्य खोज्नुको साटो नेपाली कांग्रेसले 'इन्टरनेट अल्गोरिदम' लाई आफ्नो हारको दोषी ठहर गर्दै एउटा नयाँ दृश्य मञ्चन गरेको छ।पार्टीको समीक्षा बैठकमा २७ ओटा बुँदा पेश गरिए, तर ती ७६ जना नेपाली छोराछोरीको चित्कार ती बुँदाहरूमा कतै अटाएनन्। गृह प्रशासनको नेतृत्व सम्हालिरहेका रमेश लेखक को कार्यशैली र 'निकम्मापन' ले कयौँको सिउँदो पुछियो, कयौँको काख रित्तियो। तर, कांग्रेसले आफ्ना मन्त्रीहरूको असफलतालाई लुकाउन 'डिजिटल अल्गोरिदाम लाई नै दोषी करार गरेको छ।"आमा, म फर्केर आउँछु" भन्दै निस्किएका ती कलिला युवाहरू कहिल्यै फर्किएनन्। आज तिनै युवाका सपनाहरूमाथि राजनीति गरिँदैछ। ७६ जनाको हत्याको नैतिक जिम्मेवारी लिनुको साटो "हामीलाई इन्टरनेटले हरायो" भन्नु ती मृतक आत्माहरूमाथिको सबैभन्दा ठूलो अपमान हो।आफ्नै नागरिकको रगत बग्दा मुकदर्शक बनेको गृह प्रशासनको लाचारीलाई ढाकछोप गर्न खोज्नुले कांग्रेसको मानवीय संवेदना हराएको प्रस्ट पार्छ। ७६ परिवारको आँसु र रगतको बदला इन्टरनेटलाई गाली गरेर मेट्न खोज्नु इतिहासकै सबैभन्दा क्रूर राजनीतिक ढोंग सावित भएको छ। न्याय खोजिरहेका ती आमाहरूको प्रश्न छ– "हाम्रो सन्तानको ज्यान अल्गोरिदमले लिएको हो कि तिम्रो सत्ताको घमण्डले?"

उक्साउनेहरू संसदमा, रगत बगाउनेहरू चिहानमा! अचम्मको तथ्य त के छ भने, हिजो सडकमा युवाहरूलाई मर्न र मार्न उक्साउने कतिपय नयाँ शक्ति र अनुहारहरू नै अहिले निर्वाचन जितेर प्रतिनिधिसभामा पुगेका छन्। आन्दोलनको भावनालाई भोटमा बदलेर उनीहरू संसद छिर्दै गर्दा, ७६ जना शहीदका आमाहरूको आँसुले संसद्को गेटलाई धिक्कारिरहेको छ। कांग्रेस र एमालेले आफ्नो हारको गहिरो समीक्षा गर्नुको साटो इन्टरनेटलाई सरापेर बस्नुले उनीहरूको राजनीतिक पतनको बाटो थप प्रस्ट पारेको छ।

प्रतिक्रिया