रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमाथि आइतबारदेखि सर्वोच्चमा सुनुवाइ हुने

taraitimes.com

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोग पत्र संशोधन गरी केही गम्भीर मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरूमाथि आगामी आइतबारदेखि नियमित सुनुवाइ हुने भएको छ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट निवेदनहरूलाई आइतबारदेखि सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो। अदालत स्रोतका अनुसार सुनुवाइ सुरु भएको दुई–तीन दिनभित्रै सर्वोच्चले आफ्नो अन्तिम आदेश सुनाउने तयारी गरेको छ।महान्यायाधिवक्ता सविना भण्डारी बरालले लामिछानेविरुद्ध पेश भएको आरोप पत्र संशोधन गर्न र त्यस क्रममा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिनुभएको थियो। महान्यायाधिवक्ताको उक्त विवादास्पद निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आवास रेग्मी र युवराज पौडेल (सफल) लगायतले सरकारी निर्णयले कानुनी राज्यको उपहास गरेको भन्दै सर्वोच्चको ढोका ढकढकाएका थिए।सर्वोच्चले ती सबै निवेदनहरूलाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएको छ। आइतबार हुने भनिएको यो सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ, किनकि यसको फैसलाले रवि लामिछानेको राजनीतिक भविष्य र सहकारी ठगी प्रकरणको अनुसन्धान प्रक्रियामा ठूलो प्रभाव पार्ने देखिन्छ।

प्रतिक्रिया