प्रतिनिधि सभा निर्वाचन सम्पन्न: गगन थापाको क्षेत्रमा विवाद, बालेन बीचबाटोबाटै फर्किए; ओखलढुङ्गाको हल्ला भ्रम मात्रै

taraitimes.com

युवराज शाह, फागुन २१।प्रतिनिधि सभाका लागि आज भएको निर्वाचन देशभर छिटपुट घटनाबाहेक सामान्यतया शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो। निर्वाचन आयोगका अनुसार देशभर करिब ६० देखि ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।

सर्लाही ४ मा विवाद र झडप: नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र रहेको सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनु बित्तिकै विवाद सिर्जना भएको थियो। मतदान केन्द्रमा उपस्थित मतदाताहरू बीच आपसी विवाद भएपछि स्थिति तनावपूर्ण बनेको थियो, जसका कारण केही समय मतदान नै स्थगित गर्नुपरेको थियो। पछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि मात्र मतदान पुनः सुरु गरिएको थियो।

दोलखा र महोत्तरीमा बुथ कब्जाको प्रयास: दोलखामा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरूले बुथ कब्जा गर्ने प्रयास गरेपछि स्थिति अशान्त बनेको थियो। सो कार्यको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताले प्रतिवाद गरेपछि दुई पक्षबीच झडप भएको थियो। यस्तै, महोत्तरीमा पनि विभिन्न कारणले उत्पन्न विवादका कारण केही समय मतदान स्थगित भए पनि सुरक्षा निकायको सक्रियतापछि मतदान सुचारु भयो।

ओखलढुङ्गामा 'गोली चलेको' हल्ला फैलाउने पक्राउ: ओखलढुङ्गामा नेपाली सेनाले गोली चलाएको भनी सामाजिक सञ्जालमा फैलिएको समाचारको प्रहरीले खण्डन गरेको छ। प्रहरी नायब निरीक्षक अभिनारायण काफ्लेका अनुसार यस्तो भ्रम फैलाउने व्यक्ति सुनसरीको रहेको र उनीमाथि अनुसन्धान भइरहेको छ। प्रहरीले यस्ता भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मेयर बालेन शाह झापा ५ जाँदै गर्दा फर्किए: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नो निर्वाचन क्षेत्र झापा ५ तर्फ जाँदै गर्दा बीच बाटोबाटै फर्कनुभएको छ। 'सुरक्षा थ्रेट' वा प्राविधिक गडबडीका कारण उनी फर्किएको चर्चा चले पनि प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता अभिनारायण काफ्लेले त्यसलाई अस्वीकार गर्नुभएको छ। काफ्लेले सुरक्षा व्यवस्था चुस्त रहेको र शाह सुरक्षा थ्रेटका कारण नभई अन्य प्राविधिक वा व्यक्तिगत कारणले फर्किएको हुन सक्ने बताउनुभयो।

बहिष्कार र मतगणनाको तयारी: उता, दार्चुला र दाङका केही दुर्गम बस्तीहरूमा स्थानीयले विकासका माग राख्दै मतदान बहिष्कार गरेका छन्।

निर्वाचन आयोगले : अहिले देशभरका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी सुरक्षित रूपमा सदरमुकाम लैजाने कार्य भइरहेको र आज राति वा भोलि बिहानैदेखि मतगणना सुरु हुने जानकारी दिएको छ।

प्रतिक्रिया