बलेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको तयारी: आफ्नै विधान र कानुन बन्यो तगारो

taraitimes.com

काठमाडौँ २८ फागुन | प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतको ऐतिहासिक सफलता चुमेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा क्षेत्र नं. ५ बाट केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका पूर्व मेयर बालेन्द्र शाह (बलेन) लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने तयारी थालेको छ। तर, पार्टीको आफ्नै विधान र प्रचलित कानुन मुख्य चुनौती बनेर उभिएका छन्।

रास्वपाको विधानको धारा ७६ (८) र धारा ६६ (८) अनुसार संसदीय दलको नेता छानिनुअघि पार्टीका साधारण सदस्यहरूबीच 'प्राइमरी इलेक्सन' (प्रारम्भिक निर्वाचन) हुनुपर्ने अनिवार्य व्यवस्था छ। बलेनको टिम र रास्वपाबीच चुनावी तालमेल र एकताको प्रक्रिया ढिलो गरी टुङ्गिएका कारण निर्वाचनअघि यो प्रक्रिया पालना हुन सकेन। यसका साथै, राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा २५ ले संसदीय दलको नेता निर्वाचित सांसदहरूले आफूमध्येबाटै छान्नुपर्ने कानुनी व्यवस्था गरेको छ। पार्टीको विद्यमान विधान र कानुनी प्रावधान बीच तदम्यता नमिलेका कारण बलेनलाई वैधानिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउन रास्वपालाई कठिन परेको हो। यी कानुनी र प्रक्रियागत गाँठा फुकाउन रास्वपाले अहिले आफ्नो विधान संशोधनको तीव्र तयारी गरिरहेको छ। विधानमा रहेको 'प्राइमरी' सम्बन्धी प्रावधानलाई परिमार्जन गरेर वा विशेष परिस्थितिमा नेतृत्व चयन गर्ने बाटो खोलेर बलेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने रास्वपाको योजना छ। देशभर चलेको 'बलेन लहर' लाई सत्ताको नेतृत्वमा बदल्न रास्वपा नेतृत्व अहिले आन्तरिक छलफलमा जुटेको छ।

थप ताजा समाचारका लागि taraitimes.com हेर्दै गर्नुहोला।

प्रतिक्रिया