नवनिर्वाचित सांसद र प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी पूरा: चैत १३ गते बालेन्द्र शाहले पदभार ग्रहण गर्ने

taraitimes.com

युवराज शाह तराई टाइम्स, चैत ११ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन पश्चात मुलुक नयाँ सरकार गठनको अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयले नवनिर्वाचित सांसद तथा प्रधानमन्त्रीको शपथ ग्रहणका लागि सम्पूर्ण तयारी पूरा गरेका छन्।

नवनिर्वाचित २७५ जना प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि चैत १२ गते दिउँसो २:०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनको बहुउद्देश्यीय हलमा हुनेछ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आजै (चैत ११ गते) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिइसक्नुभएको छ भने भोलि उहाँले अन्य सांसदहरूलाई शपथ गराउनुहुनेछ।नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण आगामी चैत १३ गते (शुक्रबार) दिउँसो १२:३४ बजे शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना गरिने भएको छ। यसपटकको शपथ ग्रहण समारोहलाई सांस्कृतिक रूपमा भव्य बनाइने तयारी छ। समारोहमा ७ वटा शंख एकैसाथ बजाइनेछ भने १०८ बटुकद्वारा स्वस्ति वाचन र १६ जना बौद्ध भिक्षुहरूद्वारा अष्टमङ्गल पाठ गरिने कार्यक्रम तय गरिएको छ।

पदभार ग्रहण र पहिलो निर्णयशपथ ग्रहण लगत्तै नवनिर्वाचित प्रधानमन्त्री शाह सिंहदरबार प्रस्थान गर्नुहुनेछ। उहाँले सोही दिन दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ। पदभार ग्रहण लगत्तै प्रधानमन्त्रीले केही महत्वपूर्ण नीतिगत निर्णयहरूमा हस्ताक्षर गर्ने र मन्त्रिपरिषद्को पहिलो बैठक आह्वान गर्ने सचिवालयले जनाएको छ।

मन्त्रिमण्डलको स्वरूप: निर्वाचनमा १८२ सिटसहित बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमा १५ देखि १८ सदस्यीय सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ। केही मन्त्रीहरूले प्रधानमन्त्रीसँगै चैत १३ गते नै शपथ लिने सम्भावना छ।

यसैबीच, वर्तमान अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले चैत १३ गते नै बालुवाटारस्थित सरकारी निवास छोडेर आफ्नो निजी निवास टोखा सर्ने तयारी गर्नुभएको छ।

प्रतिक्रिया