राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक विजय: भदौ २३ को आन्दोलनदेखि बहुमतसम्मको यात्रा

taraitimes.com

युवराज शाह,तराई टाइम्स विराटनगर | नेपालको संसदीय इतिहासमा एउटा अप्रत्यासित र शक्तिशाली मोड आएको छ। भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत हासिल गर्दै सत्ताको चाबी आफ्नो हातमा लिएको छ। परम्परागत राजनीतिक शक्तिहरूलाई पाखा लगाउँदै रास्वपाले प्राप्त गरेको यो जनमतलाई धेरैले 'भदौ २३ को विद्रोह' को राजनीतिक रूपान्तरणका रूपमा लिएका छन् ।

आन्दोलनको रापबाट सिंहदरबारको यात्रा:गत भदौ २३ गते देशव्यापी रूपमा उठेको जनलहर र आन्दोलनले नै वर्तमान चुनावी नतिजाको जग बसालेको विश्लेषण गरिएको छ। सो आन्दोलनलाई उक्साउने, नेतृत्व गर्ने र सडकमा जनताको आवाज बुलन्द पार्ने पात्रहरू नै आज प्रतिनिधि सभामा भारी मतका साथ विजयी भएका छन्।

त्यस समयको आन्दोलन केवल विरोध मात्र थिएन, बरु दशकौँदेखिको राजनीतिक बेथिति, भ्रष्टाचार र कुशासन विरुद्धको एउटा संगठित आक्रोश थियो। रास्वपाका उम्मेदवारहरूले त्यही जनआक्रोशलाई 'मत' मा बदल्न सफल भए। भदौ २३ को त्यो रापले नै आज रास्वपालाई सत्ताको शिखरमा पुर्‍याएको छ।

परम्परागत शक्तिको पतन र नयाँ उदय: वर्षौँदेखि नेपाली राजनीतिमा जकडिएर बसेका पुराना दलहरूका लागि यो निर्वाचन ठूलो धक्का सावित भएको छ। जनताले यथास्थितिवादलाई अस्विकार गर्दै परिवर्तनको पक्षमा उभिने निर्णय गरे। निर्वाचनको नतिजाले के स्पष्ट पारेको छ भने—नेपाली मतदाता अब आश्वासनमा होइन, एक्सन र एजेन्डामा विश्वास गर्छन्। रास्वपाले अघि सारेका सुशासन र पारदर्शिताका मुद्दाहरूले आम नागरिकको मन जित्न सफल भयो।

चुनौती र अपेक्षाको पहाड: बहुमत प्राप्त गरेसँगै रास्वपाका सामु अब जनअपेक्षा पुरा गर्ने ठूलो चुनौती को रूपमा  रहेको छ। जुन आन्दोलनको आडमा यो शक्ति उदाएको हो, ती आन्दोलनकारीका माग र आम नागरिकको भरोसालाई सम्बोधन गर्नु नै नवनिर्वाचित सरकारको मुख्य चुनौती हुनेछ। आन्दोलनकारीबाट शासक बनेका यी प्रतिनिधिहरूले सडकको आवाजलाई सदनमा कसरी अनुवाद गर्छन्, त्यो हेर्न बाँकी नै छ।

नेपालको राजनीतिमा यो एउटा नयाँ युगको सुरुवात हो। भदौ २३ को आन्दोलनको बलमा प्राप्त यो जितले नेपाली लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् भन्ने पुनः पुष्टि गरेको छ। अबको यात्रा केवल सत्ता सञ्चालनको मात्र नभई, समृद्ध नेपाल निर्माणको हुनुपर्ने देखिन्छ।

थप समाचार र ताजा अपडेटका लागि हेर्दै रहनुहोला taraitimes.com

प्रतिक्रिया