काठमाडौँ फागुन २८ | प्रतिनिधि सभा निर्वाचनका लागि देशभर खटिएका १ लाख ३३ हजार ४०० म्यादी प्रहरीहरू ४० दिने सेवा अवधि पूरा गरी बिहीबार बिदाइ भएका छन्। देशका विभिन्न प्रहरी कार्यालयहरूले उनीहरूलाई प्रमाणपत्रसहित ससम्मान बिदाइ गरेका हुन्। ललितपुर जिल्ला प्रहरी परिसरबाट मात्रै ४४९ जना म्यादी प्रहरी बिदाइ भएका छन्। परिसर प्रमुखले उनीहरूको लगनशीलता र अनुशासित डिउटीको प्रशंसा गर्दै निर्वाचन शान्तिपूर्ण बनाउन म्यादी प्रहरीको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। १० दिने तालिमपछि कार्यक्षेत्रमा खटिएका उनीहरूले यो अनुभवले भविष्यमा सहयोग पुग्ने र राष्ट्रको सेवा गर्न पाउँदा खुसी लागेको बताएका छन्।सुरक्षा चुनौतीका बीच फागुन २१ को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन अवधिभर कर्तव्य पालनाका क्रममा १३ जना म्यादी प्रहरीले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ। हाल देशभर प्रभावकारी सुरक्षा व्यवस्था मिलाएको भन्दै सुरक्षा निकायको चौतर्फी प्रशंसा भइरहेको छ।